Lok sewa tayari tips
साभार - युवामञ्च माघ, २०६८ |
|
तयारी लोकसेवाको |
भेषराज बेल्बासे
|
|
|
|
लोकसेवा आयोगको परीक्षा भनसुनभन्दा
'मेरिट' मा आधारित हुन्छ । त्यसैले मिहिनेतमा विश्वास गर्नेहरू अझै पनि
लोकसेवा परीक्षामा विश्वास गर्दछन् । मिहिनेती लोकसेवा परीक्षामा खरो
उत्रेका पनि छन् । गत वर्ष त महिलाले कीर्तिमान नै राखे । यद्यपि लोकसेवा
परीक्षाको तयारी सजिलो भने पक्कै छैन । कसरी गर्ने त तयारी ? के कुरामा
ध्यान दिने ?
भेषराज बेल्बासेको रिपोर्टिङ ।
लोकसेवा आयोगले लिने परीक्षाको नाम लिनासाथ मैतिदेवीका हरि शर्मा
जङ्गिए- 'बेकारको कुरा Û के को जाँच दिनु ? फाराम भर्न पनि लामो लाइन र
पढ्न पनि उस्तै गार्हो ।' हरि शर्मा मात्र होइन, अरू पनि थुप्रैका लागि
लोकसेवा दिनु भनेको फलामको च्यूरा चपाउनुसरह हो ।
हालै परराष्ट्र मन्त्रालयको अधिकृत पदका लागि खुला तर्फबाट एक नम्बरमा
नाम निकालेका कोटेश्वरका पुरुषोत्तम ढुङ्गेल भने हरिको भनाइसँग सहमत छैनन् ।
उनी भन्छन्- विश्वविद्यालयको प्राज्ञिक परीक्षा उत्तीर्णमुखी हुन्छ ।
लोकसेवा आयोगको परीक्षा प्रतिस्पर्धामुखी ।
लोकसेवाको नाम लिनासाथ नाकै खुम्च्याएर प्रतिक्रिया दिने युवालाई गत
वर्ष महिलाहरूले ऐतिहासिक छलाङ मारेर दरिलो जवाफ दिएका छन् । अघिल्लो वर्ष
५६ पदमा परीक्षा दिनेमध्ये पाँच जनाले मात्र सफलता प्राप्त गरेको कीर्तिमान
तोड्दै गत वर्ष १४६ परीक्षार्थीमध्ये ३७ महिला उत्तीर्ण भए ।
परीक्षार्थीलाई सुझाव
पाठ्यक्रम राम्ररी बुझौँं
सबैभन्दा पहिले त पाठ्यक्रममा के के छन् भनेर थाहा पाउनु पर्दछ ।
पाठ्यक्रम राम्रोसँग बुझ्न सकियो भने १० प्रतिशत काम बन्छ । अध्ययनका लागि
सहज बाटो खुल्दछ । पहिले जस्तो कण्ठ गरेर उत्तर दिनेभन्दा पनि प्रश्न बुझेर
सिलसिलेवर तरिकाले लेख्नुपर्ने व्यवस्था लोकसेवाको पछिल्लो पाठ्यक्रममा
गरिएको छ । अधिकृत स्तरदेखि तल्लो तहका लागि कण्ठ गरेको उपयुक्त ठानिन्छ
भने अधिकृत र माथिको पदका लागि बुझ्ने प्रक्रिया अगाडि बढाउनुपर्छ ।
परीक्षा ज्यादै कठिन हुन्छ भन्ने कुरा भ्रम मात्र
प्रा. डा. भीमदेव भट्ट परीक्षार्थीहरूले "तुरून्तै गरिहाल्छु भन्ने
अपेक्षा राख्नुहुन्न" भन्ने सुझाव दिन्छन् । जनप्रशासन विषयका ज्ञाता प्रा.
डा. भट्ट भन्छन्- लोकसेवा परीक्षामा धेरै आधार हुन्छन् । त्यसलाई ख्याल
गर्नुपर्छ । पहिला दृढ विश्वास र दूरदृष्टि राख्नुपर्छ । जसरी पनि गर्छु
भन्ने आत्मविश्वास लिन आवश्यक छ । लोकसेवा फेल र पासभन्दा पनि मेरिटमा
आधारित परीक्षा प्रणाली हो । आयोगद्वारा लिइने परीक्षा उत्तीर्ण हुन ज्यादै
कठिन छ भन्ने भ्रम धेरै उम्मेदवारमा पाइन्छ । यस परीक्षालाई फलामे द्वारको
संज्ञा पनि दिइन्छ । उम्मेदवारी नै नदिई यस्तो धारणा राख्नु उपयुक्त
देखिन्न । खासगरी अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने बोर्डिङ स्कुल र दश
जोड दुई शिक्षण संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूका लागि
लोकसेवा आयोगले लिने परीक्षा भाषाका हिसाबले तुलनात्मक ढङ्गले कठिन हुन
सक्दछ किनभने आयोगले प्रश्नपत्र, तोकिएका विषयमा बाहेक, नेपाली भाषामा
छपाउँछ र उम्मेदवारबाट पनि नेपाली भाषामै उत्तरको अपेक्षा गर्दछ ।
खण्डीकरण गरी समय छुट्याउने
हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा अधिकृत देवकुमार राईले परीक्षामा
सोधिएका प्रश्नहरूलाई खण्डीकरण गरेर समय छुट्याउन सक्ने विद्यार्थी अब्बल
मानिने बताउँछन् । प्रश्नहरूको उत्तर लेख्दा निबन्ध जस्तो नभएर 'टु दि
प्वाइन्ट' हुनुपर्नेमा राई जोड दिन्छन् ।
एकै पटक जाँचमा बस्दा सबै कुराको व्यवस्थापन नहुन सक्छ । जाँचमा
प्रश्नहरू कसरी सन्तुलित रूपमा हल गर्न सकिन्छ भनी पटक-पटक अभ्यास
गर्नुपर्ने सुझाव राईको छ ।
समूहमा बसेर तयारी गरौँं
प्रा.डा. भट्ट आˆना सुझाव यसरी दिन्छन्- लोकसेवाको तयारी गर्दा एक्लै
गर्नुभन्दा समूहमा गर्दा राम्रो हुन्छ । समूहमा तयारी गर्दा एक जनाले
जानेको कुरा अर्कोले नजानेको हुन्छ त्यस्ता कुरा साथीभाइबाट सजिलै सिक्न
सकिन्छ ।
जाँच दिन दुईदेखि तीन वर्षको समयावधि राख्नुपर्नेमा जोड दिंँदै उनी
भन्छन्- ल्ाोकसेवाको फाराम भरेपछि पढ्न सुुरू गर्ने प्रवृति परीक्षार्थीमा
पाइन्छ । यसो गर्नाले सफलता पाउन गाह्रो हुन्छ ।
"अहिले परीक्षार्थीहरूका लागि इन्टरनेट तथा पढ्नका लागि अथाह सामग्री
उपलब्ध छन् । यसका साथै चुनौती पनि थुप्रै भएकाले प्रतिस्पर्धामा उत्रने र
जसरी पनि गर्छु भन्ने आत्मविश्वास राख्नुपर्छ," प्रा.डा. भट्टको सुझाव छ ।
तयारी कक्षाको उपयोगिता
लोकसेवा आयोगले लिने परीक्षाका लागि बजारमा तयारी कक्षा सुरू भएको धेरै
समय भएको छैन तर राजधानीमा व्यावसायिक रूपमा चलाइएका तयारी कक्षाहरूको
सङ्ख्या भने निकै बढेको छ । आदिवासी, जनजाति, दलित, समाजमा उपेक्षित वर्गका
लागि काम गर्ने सङ्घ/संस्थाले यसरी तयारी कक्षा चलाइरहेका छन् भने विभिन्न
कार्यालयमा रहेका अस्थायी वा तल्ला तहमा काम गर्ने कर्मचारीलाई लक्षित
गरेर पनि यस्ता कक्षा चलाउने गरिएको छ ।
यस्ता तयारी कक्षामा मुख्यतः लेखन सीप, पाठ्यक्रमका नीति, नियम तथा
सिद्धान्त र नेपालमा ती नीति नियमका प्रयोग तथा अभ्यास आदिको बारेमा
सम्बन्धित विज्ञ तथा सोही क्षेत्रका व्यक्तित्वहरूबाट सिकाइने गरेको पाइन्छ
। यस्ता तयारी कक्षामा गएकामध्येबाट लोकसेवा परीक्षामा सफल हुनेको सङ्ख्या
अधिक भएकाले पनि यस्ता कक्षाप्रति परीक्षार्थीको मोह बढेको पाइन्छ ।
"विद्यार्थीलाई तयारी कक्षाले ६० प्रतिशत सघाउँछ । बाँकी विद्यार्थीको
मिहिनेतमा भर पर्छ," एपेक्स एजुकेसन एकेडेमीका सञ्चालक हरि पौड्याल
बताउँछन् । सात वर्ष अगाडि सञ्चालनमा आएको सो संस्थाले विद्यार्थीलाई
परीक्षाका लागि नमुना प्रश्न र त्यस्तै खालका कापी तथा अन्य सामग्री उपलब्ध
गराएर विषय विज्ञ तथा निजामती सेवा प्रवेश गरी रिटायर्ड भएका र वर्तमान
कर्मचारीबाट तयारी गराउने गरेको जानकारी दिंँदै उनी यस्ता कक्षा समयको माग
भएको बताउँछन् ।
अचेल यस्ता कक्षा सञ्चालन गर्ने नाममा परीक्षार्थीबाट पैसा ठग्ने
अभिप्रायले पनि इन्स्िटच्युटहरू सञ्चालन हुन थालेकाले यसतर्फ भने
परीक्षार्थी सजग हुनुपर्ने पनि देखिन्छ ।
आयोगको छनोट प्रक्रिया
लोकसेवा आयोग कार्यविधि ऐन, २०४८ अनुसार आयोगले खुला प्रतियोगितात्मक
लिखित परीक्षा, खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा, छनोट,
अन्तर्वार्ता र आयोगले तोकेका अन्य तरिकाबाट उम्मेदवार छनोट प्रक्रियाका
लागि वाषिर्क कार्यतालिका तयार गर्ने गर्दछ ।
सम्बन्धित निकायबाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भएपछि लोकसेवा
अयोगले सम्बन्धित ऐन नियम अनुसार पदपूर्तिका लागि सङ्ख्या निर्धारण गर्दछ ।
पदसङ्ख्या निर्धारणपश्चात् प्रत्येक बुधबार प्रकाशित हुने आयोगको बुलेटिन र
गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा ३१ दिन र
दोब्बर दस्तुरी तिरी थप सात दिनको म्याद दिई दरखास्त आहृवान गर्दछ । खुला
तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित भइसकेपछि
आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयमा
विज्ञापित पदको दरखास्त लिइन्छ । यसरी विज्ञापित पदका लागि प्राप्त भएका
दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल हुन पाउने
प्रवेशपत्र जारी गर्दछ ।
छनोट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्न आयोगले प्रश्नपत्र
निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता
सञ्चालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक
अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अबलम्बन गरी तटस्थ
राख्ने नीति अख्तियार गरेको छ ।
यी कार्य सम्पादन गर्ने क्रममा सम्बन्धित सेवा समूह र पदको परीक्षा
सञ्चालनका लागि आवश्यक पर्ने प्रश्नपत्र निर्माण गर्न सम्बन्धित विषयका
दक्षलाई पठाइने र गोप्य सिलबन्दी रूपमा प्रश्नपत्रको सेट प्राप्त हुने,
उक्त कच्चा प्रश्नपत्रका सेटमध्ये पुनः सोही विषयका अर्का दक्षलाई बोलाई
कम्तीमा पाँच सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै
सङ्केत नम्बर दिई राखिने र परीक्षा सञ्चालनको समयमा ती सेटमध्ये आयोगका
अध्यक्षबाट सङ्केत नम्बरका आधारमा छनोट भएको प्रश्नपत्रको सेट प्रयोगमा
ल्याइन्छ ।
लिखित परीक्षा सञ्चालनपछि प्राप्त भएका सम्पूर्ण उत्तरपुस्तिकामा
परीक्षा सञ्चालन शाखाले प्रथम कोड राख्ने र दोस्रो कोड राख्न अन्य कुनै
शाखाका पदाधिकारीलाई जिम्मा दिने गरिन्छ । यसरी दोस्रो कोडपछि प्राप्त
उत्तरपुस्तिका अध्यक्षले तोकेका सम्बन्धित बिषयका दक्ष र विशेषज्ञहरूलाई
परीक्षणका लागि पठाइन्छ । परीक्षणपछि प्राप्त भएका उत्तरपुस्तिकाको
प्राप्ताङ्क तालिकीकरण गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरिन्छ ।
अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई सम्बन्धित विषयमा
दक्षसमेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अङ्क अर्कोले
नदेख्ने गरी गोप्य रूपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश
गर्ने समयमा मात्र खोल्ने गरिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले
प्राप्त गरेको अङ्क अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम
तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।
लोकसेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर
पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण,
पाठ्यक्रम निर्माणलगायतका आयोगको कामका लागि सम्बन्धित शाखाले सम्बन्धित
बिषयका आवश्यक सङ्ख्यामा दक्षको नाम समावेश भएको सूचीलाई समय समयमा
अद्यावधिक गराई दक्ष र विशेषज्ञको सूची राख्दै आएको छ ।
|
|
No comments:
Post a Comment
Thanks for comment!
Admin